Toggle Menu

समाचार

APF News
दुर्घटनामा घाईते भएकाहरुको सकुशल उद्धार

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै असार २७ गते भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको छ ।
मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।
नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो भने गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको थियो ।    

2081-03-27
APF News
बाग्लुङ्गको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै

अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको खुलाईएको छ । आश्रित गुल्म बाग्लुङ्गको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।
यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ्ग नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ ।

2081-03-27
APF News
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका– ५ कुमाल बस्तीको गोपाङ्गघाटमा पहिरो गई अवरुद्ध भएको बाटो सशस्त्र प्रहरीले असार २७ गते खुलाएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतको सुरक्षा फौज खटिई अवरुद्ध भएको बाटो खुलाएको हो ।
यसैगरी सोही गणबाट खटिएको सुरक्षा फौजले कुश्मा नगरपालिका–४ गुप्तेश्वर मन्दिर जान अवरुद्ध भएको बाटो खुलाएको छ । त्यस्तै सोही नगरपालिका–११ पकुवामा पहिरो गई गोठ पुरिएको तथा वरिपरी जोखिम अवस्थामा रहेका घरपरिवालालाई नं २५ चण्डिका गण पर्वतले सुरक्षित स्थानमा सारेको छ ।

2081-03-27
APF News
वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरो, उद्धार कार्य जारी

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० घाईघाटस्थित साउनेमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध सडक सुचारु गरिएको छ । नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौजले पहिरो गई ढलेका रुख तथा ढुंगामुढा हटाई बाटो सुचारु गरेको हो ।
त्यसैगरी अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा डुवानमा परेका तथा डुवानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी रहेको छ ।
बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा नंं ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।
त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।
त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढिले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।  

2081-03-26
APF News
कमला नदिमा फसेका छ जनाको सकुशल उद्धार

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको असार २५ गतेसकुशल उद्धार गरिएको छ । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो ।
त्यसैगरी सो वेशले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदिको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

2081-03-26