वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाटमा डुवानमा परेका करीव ५० जनालाई फरवार्ड बेश बडुवाटोलले सुरक्षित स्थानमा सारेको हो ।
त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.–११ ब्रमिनी र वडा नं.–१२ ऐरीगाउस्थित भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरस्थित कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाले र सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिको बहाव बढेर बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीले सुरक्षित स्थानमा सारको हो ।
2081-03-24