ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम
लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ
।
काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय
ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो
।
बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको
ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा
ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन
ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन्
।
साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ
बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त
लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि
औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा,
प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा
बुझाईएको छ ।