काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाँड विजया दशमी, दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १६ गते सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालको शुभकामना सन्देशलाई सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नजिकिदै आएको चाडपर्वको समयमा हुन सक्ने विभिन्न अपराधिका कृयाकलापहरुलाई मध्यनजर राख्दै आ-आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन समेत दिनुभयो ।
उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षामा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको त्यागको स्मरण गर्नुुहुँदै उहाँहरुको योगदानले नै सशस्त्र प्रहरी बल, नेपाल आज यो स्थानसम्म आई पुगेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताको सेवा र सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्नुहुँदै जनताले हर्षोल्लासकासाथ चाडपर्व मनाउने वातावरणको सिर्जना गर्दै थप सजकताकासाथ परिचालन हुन निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोगका लागि देशका विभिन्न भागहरुमा सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिएको कुरा समेत बताउनुभयो ।
उहाँले राष्ट्र र संगठनले मलाई के दियो भन्दा पनि मैले राष्ट्र र संगठनलाई के दिन सक्छु भन्ने भावनकासाथ अगाडी बढ्नुपर्ने बताउनुहुँदै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।